सशस्त्रमा भुँडे र अति दुब्ला प्रहरीलाई कारबाही हुने : बढी मोटाको बढुवा अति दुब्लाकाे मिसन राेकिने

सशस्त्र प्रहरी बलमा चाइअनुसारको तौल अनिवार्य हुनुपर्ने मापदण्ड लागू भएको छ । शारीरिक तन्दुरुस्ती कायम गरी कार्यसम्पादन चुस्त बनाउन बडी मास इन्डेक्स (बिएमआई)का आधारमा स्वास्थ्य वर्गीकरणसम्बन्धी कार्यविधि, २०७९ लागू गरिएको हो ।

- हामीसँग फेसबुकमा जोडिनुहोस्-

कार्यविधिले बिएमआईका आधारमा चार किसिमको स्वास्थ्य वर्गीकरण गरी उनीहरूलाई सजायस्वरूप अवसरबाट वञ्चित गर्ने प्रावधान राखेको छ । जस अनुसार अति मोटा र अति दुब्ला वर्गमा पर्ने कर्मचारी बढुवा, कमान्ड, युएन मिसन र विदेशमा हुने तालिम तथा सेमिनारमा भाग लिन अयोग्य हुनेछन् । दुब्लो र बढी मोटा वर्गमा पर्नेहरू बढुवाका लागि योग्य हुने तथा कमान्ड, युएन मिसन, विदेश तालिम तथा सेमिनारमा अयोग्य हुनेछन् । मोटो वर्गमा पर्नेहरू बढुवा र कमान्डमा भाग लिन योग्य तथा युएन मिसन र विदेश तालिम तथा सेमिनारका लागि अयोग्य हुने नियम लागू गरिएको छ ।

कर्मचारीहरूको स्वास्थ्य स्थिति यकिन गर्न र सशस्त्र प्रहरी कर्मचारीलाई आफ्नो स्वास्थ्य ठीक अवस्थामा राख्न हौसला दिई प्रेरित गरी कार्यसम्पादनलाई चुस्त बनाउन बिएमआई मापदण्ड लागू गरिएको सशस्त्र प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० पुरुषोत्तम थापाले बताए । ‘बिएमआई लागू गर्न देशैभरि परिपत्र भइसकेको छ,’ उनले भने, ‘बिएमआई जाँच र वर्गीकरणका लागि केन्द्र र बाहिनीहरूमा मेडिकल बोर्ड गठन भई निरीक्षणको समेत तयारी भइरहेको छ ।’ केन्द्रमा प्रशासन निर्देशनालयका डिआइजीको नेतृत्वमा तथा बाहिनीमा सहायक बाहिनीपतिको नेतृत्वमा मेडिकल बोर्ड गठन गरिएका छन् ।

बिएमआईको प्रावधान कडाइका साथ लागू गर्न प्रहरी नियमावलीसमेत संशोधन गर्न लागिएको प्रवक्ता थापाले बताए । अति दुब्ला र अति मोटा प्रहरीलाई बढुवामै अयोग्यको प्रावधान सशस्त्र प्रहरी नियमावलीमै राख्न लागिएको हो । एक वर्षभित्र पूर्ण रूपमा यो कार्यविधि लागू भइसक्ने सशस्त्र प्रहरीले जनाएको छ ।

मोटोपन घटाउन तथा अति दुब्ला व्यक्तिहरू मोटाउन समय लाग्ने भएकाले एक वर्षको समय अवधि दिई कार्यान्वयन गर्न लागिएको हो । बढी मोटा र बढी दुब्ला कर्मचारीबाट कार्यसम्पादन चुस्त हुन नसक्ने निष्कर्षका आधारमा यस्तो कार्यविधि लागू भएको हो । कार्यविधिअनुसार हरेक वर्षको १५ मंसिरभित्र तोकिएको मेडिकल अधिकृतले बिएमआई प्रमाणीकरण गर्नुपर्ने हुन्छ । भर्नाका क्रममा पनि बिएमआई सामान्य हुनुपर्ने नियम लागू गरिएको छ । गर्भवती महिला, उपचारको क्रममा रहेका कर्मचारी, तौल समूहमा खेलिने विभिन्न खेलमा प्रतिनिधित्व गर्ने खेलाडीको हकमा भने समयसीमा र अवस्था तोकी बिएमआई स्वास्थ्य वर्गीकरण लाग्नेछैन ।

फौजी संगठनमा बिएमआई निकै महत्वपूर्ण मानिन्छ । विश्वका धेरै सुरक्षा फौजहरूमा यो कडाइका साथ लागू छ । अर्धसैन्य फौज सशस्त्र प्रहरीमा भने यो लागू हुन नसक्दा धेरै प्रहरी मोटा भएका थिए । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पदमा नियुक्त भएलगत्तै यसका लागि अध्ययन समिति बनाएका थिए । सोही समितिको सिफारिसका आधारमा कार्यविधि बनेको हो ।

नेपाली सेनामा लामो समयदेखि बिएमआई लागू छ । सेनामा पनि बिएमआईमा अनुत्तीर्ण हुनेहरूलाई बढुवा, शान्ति मिसनलगायत अवसरबाट वञ्चित गर्ने नियम छ । तर नेपाल प्रहरीमा भने यो विषय बहसमै सीमित छ । नियमित शान्ति सुरक्षामा खटिने प्रहरी झन् तन्दुरुस्त हुन आवश्यक भए पनि प्रहरी नेतृत्वले बिएमआई लागू गर्न सकेको छैन । प्रहरी कर्मचारी लामो समय ड्युटीमा खटिनुपर्ने भएकाले बिएमआई लागू गर्दा समस्या हुन सक्ने भएकाले कार्यान्वयन गर्न कठिनाइ भएको प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राई बताउँछन् । नयाँपत्रिकाबाट

प्रतिक्रिया

सम्बन्धित समाचार