आगामी निर्वाचनमा १ लाख २० हजार म्यादी प्रहरी, कार्यअवधि ४० दिन, तलब पनि बढ्ने

काठमाडौँ — प्रहरी प्रधान कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १ लाख २० हजार म्यादी प्रहरी भर्नाको प्रस्ताव गरेको छ । मंसिर ४ का लागि तोकिएको निर्वाचन सुरक्षार्थका लागि गृह मन्त्रालयमा पेस गरेको म्यादी भर्नाको प्रस्तावमा म्यादी प्रहरीको कार्यअवधि ४० दिन राख्न पनि प्रस्ताव गरिएको छ ।

- हामीसँग फेसबुकमा जोडिनुहोस्-

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि मतपेटिका छुट्टाछुट्टै हुने भएर त्यसको सुरक्षामा म्यादीको संख्या बढाउनुपर्ने प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले बताए । गत वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा १ लाख म्यादी प्रहरी खटाइएको थियो । यसपाली म्यादी भर्नाको क्रममा अघिल्लो निर्वाचनमा खटिएका म्यादी र पूर्वसुरक्षाकर्मीलाई पहिलो प्राथमिकतामा राखिने उनको भनाइ छ ।

यसअघि म्यादी प्रहरीले प्रहरी जवानको आधारभूत तलबमान बराबर २२ हजार ६ सय ६० रुपैयाँ मासिक तलब, पोसाकभत्तावापत ६ हजार रुपैयाँ, रासन भत्ताबपत एकमुष्ट ७ हजार २ सय रुपैयाँ र यातायात भाडाबाट एक पटकका लागि १ हजार रुपैयाँ उपलव्ध गराउने गरी सुविधा निर्धारण गरिएको थियो ।

तर यसपाली साउन १ बाट सबै राष्ट्रसेवक कर्मचारीको तलब १५ प्रतिशत हुँदा जवानको मासिक आधारभूत तलब ३ हजार ३ सय ९९ रुपैयाँ वृद्धि भएर २६ हजार ५९ रुपैयाँ पुगेकोले म्यादीको तलब पनि सोहीअनुसार निर्धारण हुनुपर्ने प्रहरी प्रधान कार्यालयको प्रस्तावमा उल्लेख छ ।

प्रस्तावित संख्याअनुसार म्यादी भर्ना भए १ लाख २० हजार म्यादीका लागि एक महिनाको पारिश्रमिकमा मात्रै ३ अर्ब १२ करोड रुपैयाँभन्दा बढी खर्च गर्नुपर्छ । रासनभत्ता, पोसाक सुविधालगायत जोड्दा ४० दिनका म्यादीका लागि मात्रै पौने ६ अर्ब रुपैयाँ जति खर्च हुनेछ ।

गृह मन्त्रालयका अनुसार गत स्थानीय चुनावमा १ लाख, आम निर्वाचन २०७४ मा करिब ९८ हजार र त्यही वर्षको स्थानीय निर्वाचनमा ७५ हजार तथा २०७० मंसिरमा भएको दोस्रो संविधानसभा निर्वाचनमा ४५ हजार म्यादी प्रहरी भर्ना भएका थिए ।

सरकारले आगामी निर्वाचनमा सेना, प्रहरी र सशस्त्र प्रहरीका पौने २ लाख सुरक्षाकर्मी खटाउने गरी तयारी गरेको छ भने सुरक्षा निकाय पनि सोही अनुसारको कार्ययोजना निर्माणमा जुटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार