गुल्मी । बैंकमार्फत भत्ता बुझ्न लक्षित बर्गलाई समस्या भएपछि गुल्मीको इश्मा गाउँपालिकाले टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । ज्येष्ठ नागरिक तथा अपाङ्गगता भएका व्यक्तिहरुलाई बैंकमार्फत वितरण गरिने भत्ता लिन समस्या भएपछि इश्माले टोलटोलमै पुगेर भत्ता वितरण गर्न शुरु गरेको हो ।
इश्माका जनप्रतिनिधिले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको प्रचारका क्रममा जनताको घरछेउमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने एजेण्डा लिएका थिए । आफूहरु निर्वाचित भएपछि जनताका बिचमा त्यही एजेण्डा पुरा गरेकाका हुन् ।
बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण हुँदा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई एकदुईदित अगाडि नै बैंक पुग्नुपर्ने, लाइन बसेर भत्ता बुझ्दा समस्या हुने लगायत अनावस्यक खर्च सँगै सास्ती खेप्नु परेको गुनासो गरेका थिए । त्यही समस्या समाधानका लागि टोलटोलमै पुगेर सामाजिक सुरक्षा वितरण गर्न शुरु गरेको इस्मा गाउँपालकाि अध्यक्ष भगतसिंह खड्काले बताए ।
आफ्नै टोलमा भत्ता बुझ्न पाएपछि लक्षित वर्गका मानिसहरु समेत खुसी छन् । गाउँपालिकाले अहिले ६ वटै वडामा गरी स्थानीयलाई पायक पर्ने १८ स्थानबाट सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको उपाध्यक्ष पार्वतकी कुँवरले बताइन् ।
गाउँपालिकाका लेखा अधिकृत अशोक कुमार खड्काका अनुसार इश्मामा अहिले सामाजिक सुरक्षा भत्ता बुझ्नेको संख्या १ हजार २ सय ३२ भन्दा धेरै छ ।