असमान तलब वृद्धि बिरुद्ध भोली देशभरका नासु बिदामा बस्ने

काठमाडौंं – बजेट घोषणा विपरीत असमान ढंगले कर्मचारीहरुको तलब वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित भएका छन् ।

- हामीसँग फेसबुकमा जोडिनुहोस्-

आन्दोलनको कार्यक्रम अनुसार नायव सुब्बा कर्मचारीले भोलि मंगलबार बिदामा बस्ने घोषणा गरेका छन् । देशभरीका नासु कर्मचारीहरुले बिदा बस्ने निर्णय गरेको निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले बताए । भट्टराईका अनुसार साेमबार सिहंदरबारभित्रका नासु र खरिदार तहका कर्मचारीहरूले ‘पेन डाउन’ गरेका थिए ।

‘आज सिंहदरबारमा ‘पेन डाउन’ गरेर सूचना तथा सञ्चार मन्त्रालयको हलमा भएको नासु कर्मचारीहरुको भेलाले भोलि देशभरीका नासु बिदामा बस्ने र अर्थमन्त्री, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री, मुख्य सचिव, अर्थ सचिव र सामान्यका सचिवलाई मागको विषयमा एसएमएस गर्ने निर्णय भएको छ’ उनले भने, ‘थप आन्दोलनका थप कार्यक्रम हामी भोलि तय गर्छौं ।’

असमान तलब वृद्धि र निजामती सेवा ऐनको विषयमा नासु कर्मचारी आन्दोलित हुँदै आएका छन् । उनीहरुले शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० तथा बढुवा ३० र आन्तरिक/अन्तर तहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गर्नुपर्ने माग उनीहरुको छ ।

यसैबीच, अर्थमन्त्री जनार्दन शर्माले बजेटमा गरिएको घोषणा अनुसार नै तलबमान लागू हुने बताएका छन् । बजेट घोषणा विपरीत कर्मचारीहरुको तलब असमान ढंगले वृद्धि गरिएको भन्दै आन्दोलित कर्मचारीहरुका नेताहरुले आज अर्थमन्त्रीलाई शर्मालाई भेटेर सच्याउन दबाव दिएका थिए । उनीहरुसँगको भेटमा मन्त्री शर्माले तत्कालको लागि बजेट भाषण अनुसार नै तलब वृद्धि गर्ने बताएको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले जानकारी दिए ।

५ कर्मचारी संगठनका अध्यक्षहरुसँगको भेटमा अर्थमन्त्री शर्माले तत्काल बजेट घोषणा अनुसार नै १५ प्रतिशत तलब वृद्धि लागु गर्ने र नमिलेका विषय ‘पे कमिसन’गठन गरेर मिलाउने प्रतिबद्धता व्यक्त गरेको पोखरेलले बताए ।

पोखरेलसहित निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि बहादुर रावल, मधेसी कर्मचारी संगठनका अध्यक्ष भुवनेश्वर चौधरी, एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष मोहन घिमिरेले अर्थमन्त्री शर्मालाई भेटेका थिए ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष रावलले पनि मन्त्री शर्माले अहिले १५ प्रतिशत तलब वृद्धि लागू गर्ने बताएको जानकारी दिए । साथै मन्त्री शर्माले निजामती सेवाभित्र र बाहिर नमिलेको मर्यादाक्रम लगायतका विषयहरु पनि मिलाउने बताएको रावलको भनाइ छ ।

अर्थमन्त्री शर्माले गत जेठ १५ गते संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा सबै राष्ट्र सेवक कर्मचारीहरुको तलब १५ प्रतिशत वृद्धि गर्ने उल्लेख थियो ।

तर साउन १ गतेदेखि लागु हुने कर्मचारीहरुको नयाँ तलबमान १५ देखि २४ प्रतिशतसम्म वृद्धि भएको विवरणसहितको एक कागजात सार्वजनिक भएको छ । अर्थ मन्त्रालयको छापसहितको सो विवरण अनुसार शाखा अधिकृतहरुले यही साउन महिनादेखि २४ प्रतिशत, उपसचिवहरूले २३.३ प्रतिशत, सहसचिवहरूले २३.३ प्रतिशत र सचिवहरूले १८.४ प्रतिशत बढी तलब पाउने छन् । यसको आधिकारिकता भने पुष्टि भइसकेको छैन ।

तर चालकको भन्दा आफूहरुको तलबमान कम भएको भन्दै नासुहरु यसमा असन्तुष्ट छन् । असमान ढंगले तलब वृद्धि गरिंदा आफूहरु मर्कामा परेको भन्दै नासुहरुले आज सिंहदरबारभित्र ‘पेन डाउन’ गरेका छन् । असमान तलवृद्धिको विरोधमा भोलि (मंगलबार) विदा बस्ने घोषणा समेत उनीहरुले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार