अस्ट्रेलियाका प्रधानमन्त्रीले स्वीकारे हार, लेबर नेता एन्थोनी प्रधानमन्त्री बन्ने

सिड्नी — अस्ट्रेलियामा शनिबार सम्पन्न आमनिर्वाचनमा विपक्षी दल लेबरले जित हासिल गरेको छ । वर्तमान प्रधानमन्त्री स्कट मरिसनले हार स्वीकार गरेका छन् । जितसँगै लेबर नेता एन्थोनी अल्बानिज प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।

- हामीसँग फेसबुकमा जोडिनुहोस्-

अस्ट्रेलियामा शनिबार सम्पन्न आमनिर्वाचनमा जित हासिल गरेपछि विपक्षी दल लेबर नेता एन्थोनी अल्बानिज पत्नी जोडी हेडन र छोरा नाथनसँग । तस्बिर : रोयटर्स

वर्तमान प्रधानमन्त्री स्कट मरिसनले शनिबार राति निर्वाचनमा आफ्नो गठबन्धनको हार स्वीकार गर्दै विपक्षी नेता अल्बानिजलाई बधाई दिएका छन् । निर्वाचन परिणाम सार्वजनिक भएपछि आफ्ना समर्थकमाझ बोल्दै मरिसनले लिबरल पार्टी नेतृत्वबाट राजीनामा दिने घोषणा गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा सांसदको जिम्मेवारी पूरा गर्ने तर पार्टी नेताको जिम्मेवारी दलको बैठकबाट हस्तान्तरण गर्ने बताएका हुन् ।

चुनावी परिणामसँगै लेबरले ९ वर्षपछि पुन: सरकार बनाउन पाएको छ भने ३ कार्यकालदेखि शक्तिमा रहेको लिबरल नेसनल गठबन्धन सत्ताबाट बाहिरिने भएको हो । चुनावी परिणापछि बोल्दै अल्बानीजले ‘अस्ट्रेलियालाई एकताको सुत्रमा बाध्ने’ बताएका छन् । उनले भ्रष्टाचारविरुद्ध राष्ट्रिय आयोग गठन गर्ने र महिला तथा जनजातिको अधिकार सुनिश्चित गर्ने बताएका बीबीसीले उल्लेख गरेका छन् ।

निर्वाचन घोषणा हुनुभन्दा अघि गरिएका विभिन्न सर्वेक्षणमा विपक्षी दल लेबरले जित हासिल गर्ने देखिएको थियो । त्यसका साथै लिबरलको सरकार रहेको दक्षिण अस्ट्रेलियामा केही महिनाअघि भएको राज्य निर्वाचनमा लेबरले जित हासिल गरेसँगै लिबरल गठबन्धनलाई दबाब परेको थियो ।

शनिबार सम्पन्न चुनावमा करिब १ करोड ७० लाख जनताले मत हालेका थिए । जसमध्ये करिब ४ लाख ५० हजार नयाँ मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको प्रचारप्रसारका क्रममा दलहरूले जनताको मत जित्न सुरक्षा, स्वास्थ्य, वायु प्रदूषण, शिक्षा, यातायात, अर्थतन्त्र, जीविकोपार्जनलगायतका विषयलाई मुख्य मुद्दा बनाएका थिए । निर्वाचनमा लिबरलका प्रभावशाली नेता तथा मरिसन सरकारका ट्रेजरर जोस फ्याडनबर्गले स्वतन्त्र उम्मेदवार मनिक रायनसँग कडा प्रतिस्पर्धा गरिरहेका छन् भने अन्य केही नेताले आफ्नो निर्वाचन क्षेत्रबाट हार व्यहोर्नुपर्ने देखिएको छ ।

निर्वाचनले ३ वर्षका लागि नेतृत्व छनोट गरेको हो । अस्ट्रेलियाका ६ राज्य तथा २ टेरीटोरीबाट तल्लो सदनका लागि १ सय ५१ निर्वाचन क्षेत्र र माथिल्लो सदन सिनेटका लागि ७६ सिटमा मतदान भएको छ । बहुमतको सरकार बनाउनका लागि कुनै पनि दललाई तल्लो सदनमा ७६ सिट र माथिल्लो सदनमा ४० सिट आवश्यक पर्छ ।

स्थानीय समाचार संस्था एबीसीका अनुसार लेबरले ७२ सिटमा जित हासिल गरेको छ । जुन सरकार गठनका लागि ४ सिट कम हो । केही क्षेत्रको मतगणना जारी रहेकाले लेबरले संसद्मा एकल बहुमत पाउने सम्भावना भने कायमै छ । लिबरल गठबन्धन ५१ सिटमा विजयी भइसकेको जनाइएको छ ।

यस वर्षको निर्वाचन पछिल्लो समय बिग्रँदै गएको चीनसँगको आर्थिक र कूटनीतिक सम्बन्ध, रुस र युक्रेनबीचको युद्धका कारण बढ्दै गएको तनावका कारणसमेत नयाँ आउने लेबरको नेतृत्वलाई उत्साहका साथ हेरिएको छ । यसका साथै चीनले अस्ट्रेलियाको छिमेकी टापु मुलुक सोलोमन आइल्यान्डसँग सुरक्षा सम्झौता गरिसकेपछि प्यासिफिक क्षेत्रमा बढ्न सक्ने सुरक्षा चुनौतीबारे नयाँ नेतृत्वका योजनालाई पनि चासोका साथ हेरिएको छ । अघिल्लो सरकारको सबैभन्दा ठूलो भूलका रूपमा परिभाषित गरेको लेबरले आफैले सरकार निर्माण गरिसकेपछि यसलाई सन्तुलनमा ल्याउन अपनाउने रणनीति कस्तो हुने भन्नेमा समेत सबैको चासो छ ।

अस्ट्रेलियामा करिब ३ साताअघिदेखि नै मतदान सुरु गरिएको थियो । मतदान अनिवार्य भएको अस्ट्रेलियामा मत नदिने योग्य नागरिकलाई जरिवानासमेत हुन्छ । तोकिएको दिन मत दिन नसक्नेहरूका लागि सरकारले केही साताअघिदेखि नै मतदान गर्ने व्यवस्था गरेको थियो । त्यस्तै, हुलाकमार्फतसमेत लाखौंले मत दिएका थिए ।

आप्रवासी नीतिमा कडाइ हुन सक्ने

अस्ट्रेलियामा आप्रवासी नीतिका लागि लिबरल गठबन्धन लचिलो मानिन्छ । तर सरकार बनाउने तरखरमा रहेको लेबर भने यस मामिलामा कठोर देखिन्छ । कर्मचारी संगठन (युनियन) को राम्रो प्रभाव रहेका कारण पनि लेबरलको आप्रवासन नीति लिबरलको तुलनामा कडा हुने कतिपयको विश्लेषण छ । अन्तर्राष्ट्रिय विद्यार्थी संख्याका लागि तेस्रो स्थानमा रहेको नेपाली विद्यार्थीका लागि अध्यागमन नीतिले खासै असर नपर्ने भए पनि स्किल माइग्रेसनको क्षेत्रका लागि भने लेबरको नीतिले असर पुग्ने जानकारहरूको भनाइ छ ।

सिड्नीस्थित अधिवक्ता तथा अध्यागमन क्षेत्रका ज्ञाता सञ्जीव पाण्डे उच्चशिक्षा अध्ययनका लागि आउने विद्यार्थीका लागि लिबरल र लेबर दुवैको पोलिसीमा खासै फरक नपरे पनि दक्ष कामदार भिसा तथा रोजगारदाताले दिने स्पोन्सरसिप भिसामा भने कडाइ हुने बताउँछन् । उनी लेबर पार्टीमा कर्मचारी युनियनको प्रत्यक्ष दबाब रहन सक्ने र जसका कारण स्थानीय कामदारलाई नै प्राथमिकता दिन सरकारलाई दबाब पर्ने सुनाउँछन् । ‘युनियनले विदेशबाट दक्ष कामदार ल्याउनेभन्दा पनि आफ्नै जनशक्तिलाई उपयोग गर्ने विषयमा लबिइङ गर्ने भएकाले पीआर पाउने अध्यागमन नीतिमा केही परिवर्तन हुन सक्छ । तर कामदार अभाव भइरहेकाले लेबरले पनि तत्कालै आप्रवासी नीतिमा व्यापक परिवर्तन गर्न सक्ने स्थिति छैन,’ पाण्डेले कान्तिपुरसँग भने ।

नेपाली मूलका पौडेल पराजित

सत्तारूढ दल लिबरलबाट सिड्नीको म्याकाथर निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका नेपाली मूलका युवा विनोद पौडेलले हार व्यहोरेका छन् । पौडेल यसपटकको संसदीय चुनावमा नेपाली मूलका एक्लो उम्मेदवार हुन् । पौडेल विपक्षी दल लेबरका उम्मेदवार डा. माइकल फ्रिल्यान्डरसँग पराजित भएका हुन् । फ्रिल्यान्डर उक्त क्षेत्रमा विगत दुई कार्यकालदेखि सांसद छन् । चुनावमा जित–हार जे भए पनि नेपाली मूलको युवा मुख्य राजनीतिक दलको उम्मेदवार हुन पाउनु नै गौरवको विषय भएको उनको भनाइ छ । उनले आफ्नो उम्मेदवारीले यहाँ रहेका दोस्रो पुस्ताका नेपाली मूलका नागरिकलाई अस्ट्रेलियाली मूलधारको राजनीतिमा आउन प्रेरित गरेको दाबी गर्छन् ।

यसअघि सन् २०१९ को आमनिर्वाचनमा लिबरलका तर्फबाट नेपाली मूलका युवा प्रमेज श्रेष्ठ सिड्नीको बार्टन क्षेत्रबाट उम्मेदवार भएका थिए । त्यस्तै, पश्चिम अस्ट्रेलियाबाट तेस्रो ठूलो पार्टी ग्रिनबाट नेपाली मूलका भुवन खड्काले उम्मेदवारी दिएका थिए । तर दुवै जना पराजित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार