मतगणना सकिएका १८ स्थानीय तहमा काँग्रेस एमाले बराबर

देशभरका ७५३ स्थानीय तहमध्ये हालसम्म १८ वटा स्थानीय तहमा अन्तिम मत परिणाम आइसकेको छ । १७ स्थानीय तहको अन्तिम नतिजामध्ये नेपाली काँग्रेस र एमाले ७/७ स्थानमा विजयी भएका छन् ।

- हामीसँग फेसबुकमा जोडिनुहोस्-

नेकपा (माओवादी केन्द्र) ले २ र नेकपा (एकीकृत समाजवादी)ले २ स्थानमा विजयी भएका छन् । यो तथ्यांक निर्विरोध भएका समेतको हो ।

अहिलेसम्म निर्वाचित भएकामध्ये तालमेल गरेर जितेको पालिका मनाङको नासोँ गाउँपालिका मात्रै हो । यहाँ गठबन्धनबाट कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ निर्वाचित भएका छन् भने उपाध्यक्षमा माओवादी केन्द्रका वेदबहादुर गुरुङ निर्वाचित भएका छन् । त्यसबाहेक अन्यमा भने दलहरु एक्ला–एक्लै प्रतिस्पर्धामा थिए ।

डोल्पाको जगदुल्लामा माओवादी केन्द्रले एमाले, कांग्रेस, एकीकृत समाजवादी सहितको गठबन्धनलाई एक्लै परास्त गरेको छ । गठबन्धनलाई पराजित गर्दै माओवादी केन्द्रले अध्यक्ष र उपाध्यक्षसहित वडामा पनि बहुमत सिट जितेको छ।

नेपाली कांग्रेसले २०७४ को स्थानीय निर्वाचनमा एमालेले जितेको गुल्मीको रेसुङ्गा नगरपालिका जितेको छ । जहाँ मेयर, उपमेयर र १० वडाध्यक्ष समेत काँग्रेसले जितेको छ । रेसुङ्गमा एमालेले पहिला ६ वटा वडा जितेकोमा अहिले २ वडा समेत हारेर जम्मा ४ वडा जितेको छ ।

आइतबार बिहान ८ बजेसम्मको परिणामअनुसार कांग्रेसले २६० स्थानमा अग्रता लिएको छ भने एमालेले १६७ स्थानमा अग्रता लिएको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले १०३, एकीकृत समाजवादीले १० र जसपाले २३ स्थानमा अग्रता बनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार