रेसुङ्गामा काँग्रेस विरासत फर्कियो, मेयरमा पन्थी र उपमेयरमा कुँवर सहित १० वडामा विजयी

गुल्मीको रेसुङ्गा नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका खिलध्वज पन्थी र उपमेयरमा अमृतादेवि कुँवर विजयी भएका छन् । मेयरमा पन्थी १ हजार २ सय ९४ मत अन्तर र उपमेयर कुँवर १ हजार ३ सय ८८ मतान्तरले विजयी भएका हुन् ।

- हामीसँग फेसबुकमा जोडिनुहोस्-

मेयर पदमा विजयी भएका पन्थीले ८ हजार ६ सय १४ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका राजेन्द्र प्रसाद पाण्डेले ७ हजार ३ सय २० मत ल्याएका छन् ।

उपप्रमुखमा विजयी कुँवरले ८ हजार ६१९ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी रिता पाण्डेले ७ हजार २ सय ३१ मत ल्याइन् ।

रेसुङ्गा नगरपालिकाका १४ वडामध्ये नेपाली काँग्रेसले १० र एमालेले ४ वडामा अध्यक्ष पद जितेका छन् । काँग्रेसका तर्फबाट वडा नं. २ मा हिराबहादुर थापा, ३ मा बाबुराम खत्री, ४ मा लिलाधर आचार्य, ५ मा दुर्गा प्रसाद खनाल, ७ मा रामजी प्रसाद पन्थी, ९ मा कृष्ण प्रसाद पाण्डे, १० मा रामबहादुर बस्नेत, १२ मा चेहरसिँ टण्डन क्षेत्री, १३ मा हुमबहादुर बस्नेत र वडा नं. १४ मा धनबहादुर पुन विजयी भएका छन् ।

त्यस्तै एमालेबाट वडा नं. १ मा राम प्रसाद पन्थी, ६ मा गन बहादुर गुरुङ्ग, ८ मा निरञ्जन थापा र ११ मा खुम बहादुर राना विजयी भएका छन् ।

स्थानीय निर्वाचन २०७४ मा नेकपा एमालेले जितेकाे मेयर र उपमेयर पदमा विजयी हुँदै काँग्रेसले रेसुङ्गामा विरासत फर्काएकाे छ । संघियता अघि गाविसहरू हुँदा नेपाली काँग्रेसकै बर्चस्व रहेकाे भएपनि २०७४ काे निर्वाचनमा पार्टिभित्र अन्तरघातका कारण तत्कालिन उम्मेदवार भुवनप्रसाद श्रेष्ठले मेयर र अमृतादेवि कुँवरले उपमेयर पदमा हारेका थिए ।

मेयर हार्दा श्रेष्ठ नेपाली काँग्रेस गुल्मीकाे सभापति थिए भने अहिले पन्थी पार्टी सभापति हुँदा मेयर पद जितेका छन् । रेसुङ्गामा विजयी भएसँगै गुल्मी काँग्रेस एकढिक्का भएकाे चर्चा भएकाे छ । काँग्रेस याे एकताले अब संघीय र प्रदेश निर्वाचनमा विजयी हुन समस्या नहुने अड्कल काट्न थालिएकाे छ ।

रेसुङ्गामा काँग्रेसले यसअघि जितेका वडा नंं. १, ८ गुमाएकाे छ भने एमालेले पहिले जितेका वडा नंं. ४, ७, ९ र १० गुमाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार