वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन शुरु हुनुभन्दा ५३ मिनेट अगाडि पूर्व मूख्य सचिव लिलामणी पौडेलले आफूले समर्थन गरेका उम्मेदवारलाई भोट मागेका छन् ।
पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लामो लेख लेखेर फोटो शेयर गर्दै रुरुक्षेत्र गाउँपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट अध्यक्ष पदका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का यदु ज्ञवालीलाई भोट भागेका हुन् ।
पौडेलको लेख जस्ताको तस्तै :
रुरुमा यदु ज्ञवाली नै किन?
संघीय गणतन्त्र नेपालको स्थापना पछि दोश्रोपटक स्थानीय तहको निर्वाचन दुई दिन पछि हुँदैछ। यस निर्वाचनमा सत्तारुढ ५दलीय गठबन्धनको मात्र अधिक चर्चा हुने गरेको छ ता पनि एमालेले पनि लोकतान्त्रिक समाजवादी दल, कमल थापाको राप्रपा र कृष्चीयनहरुको वकालत गर्ने पार्टी भनेर चिनिने परिवार दलसंग (अझ रोल्पामा त एमाले र नेपाली काङ्ग्रेसका बीचमै) गठबन्धन गरेकोले दुबैथरीले स्थानीय परिस्थिति अनुरुप गठबन्धन गरेरै निर्वाचनमा होमिएका छन् ।
जनताको प्रत्यक्ष दैनिकिसंग जोडिने अभिलेख, दर्ता, प्रमाणिकरण, सिफारीश तथा शिक्षा, स्वास्थ, कृषि, खानेपानी, पर्यावरण तथा सरसफाई, बाटोघाटो, संस्कृति एवं घरायसी मुद्दामामिला जस्ता आधारभुत सेवा र विपत्तिमा राहत तथा उद्वारजस्ता आकस्मिक सेवा दिने स्थानीय सरकारहरू वास्तबमै जनताका सुखदुखका साथी र हाम्रो शासनप्रणालीका आधारस्तम्भ हुन्। स्थानीय तहको नेतृत्व जनताको सेवामा समर्पित, जनताको आवाज सुन्ने र उनीहरुका समस्या तथा पीरमर्काप्रति सम्वेदनशील भयो भनेमात्र “आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिष्चित गर्न समानुपातिकऽ समावेशी र सहभागितामूलक सिद्धान्त्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने” नेपालको संविधानले गरेको “संकल्प” साकार हुनेछ।
२०७४ सालको निर्वाचनमा गुल्मीको रुरु गाउं पालिकामा नेकपा एमालेको नेतृत्वले एउटा वडा बाहेक सबैस्थानमा विजय हासिल गरेको थियो। यस पटक सत्तारुढ गठबन्धनको तर्फबाट यदु ज्ञवालीको नेतृत्वमा र नेकपा एमालेको तर्फबाट हिमाल श्रेष्टको नेतृत्वको टोली चुनावी मैदानमा प्रतिस्पर्धामा छ। त्यसो त २०४२ सालमा बलेटक्सार र बंघा गाउँ पंचायतमा जनपक्षीय उमेदवार भन्दै तत्कालीन प्रतिबन्धित नेकपामालेका उमेदवारलाई प्रधानपंचमा त्यहाँका जनताले जिताएर पठाए पश्चात रुरु गाउँ पालिकाका अधिकांश भागमा निरन्तर ३६ वर्षदेखी नेकपा (माले) एमालेले अकन्टक स्थानीय सरकारको नेतृत्व गरेको छ।
गत २०७४ को निर्वाचनमा पनि एमालेका निलकण्ठ गौतम र नेकपा माओबादी तथा नेपाली काङ्ग्रेसका साझा उमेदवार यदु ज्ञवाली वीच भएको प्रतिस्पर्धामा यदु ज्ञवालीले निर्वाचन हारेका थिए। हुन त पालिका प्रमुखमा विजयी निलकण्ठ गौतम एक पुराना निष्टाबान र आर्थिक मामिलामा लोभलालच नभएका मानिन्छन्। तर चुनाव हारेको र विगत वाँच वर्षमा कुनै राजकीय पदमा नभएको एउटा फुच्चे युवा यदु ज्ञवालीले गाउँको विकासनिर्माणमा पुर्याएको योगदान र जनतालाई पुर्याएको सेवाले गाउ पालिकामा भएको एकछत्र नेतृत्व र सबैभन्दा ठुलो दलको केन्दमै प्रभावशाली पद तथा संघीय सभासद र प्रभावशाली मन्त्रीसमेत यही ठाउंबाट भएको एमालेको कामलाई ओझेलमा पारि दियो।
तर चुनाव जितेको एमालेले भने यहाँका जनतालाई सरकारबाट प्राप्त हुने सेवासुविधामा दलीय आधारमा विभेद र कतिपय मामिलामा आफ्नै दलका कार्यकर्तामाथि समेत राज्यशक्तिको प्रयोग गरेर अन्याय गरेका कुराहरु बाहीर आए। उनीहरुबाट पहुँच नहुने जनताले के न्याय पाउलान् भनेर आस गर्ने? पार्टीको सपथ खान नमानेकै भरमा खुला प्रतिस्पर्धाबाट जागीर खाएको एक विपन्न परिवारको जनजाती (मगर) युवालाई जागिर छोड्न बाध्य बनाएको र गैरसरकारी संस्थाबाट दिइने बाख्रा/कुखुरा अनुदानसमेत पार्टीको सपथ खुवाएर मात्र दिने गरेको भन्ने जनताले गुनासो गरे पनि सुनि दिने कोही भएन। वास्तवमा एमालेलाई जनताले विगत ३६वर्षदेखी दिएको मतबाट आर्जन गरेको शक्तिले त्यसका नेतामा सर्वसत्तावाद, अहंकार र स्वार्थन्धता बढेको छ।
भन्नेले जेसुकै भनुन् म कुनै दलको सदस्य छैन त्यसैले के ठीक र बेठीक भन्ने स्वतन्त्रता मलाई छ। अर्कोतर्फ चुनाव हारेर पनि विगत पाँच वर्षमा गाउँको विकासनिर्माण र जनताको सुखदुखमा उदाहरणीय रुपमा खटेको देखेर यदु ज्ञवालीको समर्थनमा विगत एक वर्षदेखी म लागेको हुँ। चाहे म सरकारमा रहंदाको समयमा होस् या अवकास भएपछि, यदुले सधै गाउँको विकासनिर्माण र गाउलेको समस्याको चिन्ता गरेको पाएँ।
कहिले फलानो बिरामी परेर काठमाडौं आएको छ उपचार गराउने पैसा छैन उपचार गराईदिनु पर्यो भनेर त कहिले पालिका कै सबैभन्दा सुख्खा ठाउंमा खानेपानीको कुरामा, कहिले विद्यालयका समस्याले त कहिले बाटोघाटोका कुरामा, कहिले पुलका कुराले त कहिले पुरातात्विक/साँस्कृतिक सम्पदा संरक्षणका कुरामा, कहिले ब्यवसायिका समस्यामा त कहिले आम नागरिकका अड्डाअदालतमा दुख पाएका कुरामा सधैजसो जनताका समस्या लिएर यदुले मलाई सयौपटक घचघचाएका छन् र मेरो सहयोग मागेका छन्।
सातै दिन बाह्रै महिना माटोमा कठोर परिश्रम गरेर एक मौषममा ४० लाख बराबरको गोलभेडा बेचेका दुई दाजुभाई युवा कृषक कहाँ उनले मलाई एक दिन प्रोत्साहन गर्नु पर्यो भन्दै लगे। पालीका कै नमुना कृषि फर्ममा म पुग्दासम्म पालिकाबाट कसैले पाइला टेकेको रहेन छ। यदुले चाहीं बेलाबेलामा आफ्ना सम्पर्कका मान्छेसंग ती दाजुभाईकहालागि सहयोगको याचना गर्दा रहेछन्। ती युवाको सफलताले अरुलाई गाउँमा बसेर काम गर्न प्रेरणा मिल्छ र कृषिको ब्यवसायिकरण गर्न तथा गाउमै रोजगारी सिर्जना गर्न सघाउंछ भन्ने उनको आँकलन रहेछ।
कोरोना महामारीका बेलामा हरेक क्वारेन्टिन स्थलमा विदेशबाट परिवार भेट्न आएका र अतालिएका नागरिकलाई परामर्स दिन जानकालागि मलाई प्रेरित गर्ने, मास्क, स्यानिटाइजर र अक्सिजन कन्सन्ट्रेटर जस्ता सामग्री जुटाउन सकिन्छ कि भनेर मलाई घचघच्याउने एवं ती सामग्री दलीय आग्रह नराखी गुल्मीका सबै पालिकालाई बराबर बाड्न उत्प्रेरित गर्ने यदु ज्ञवाली थिएँ।
विद्यालय खुले पछि सबैभन्दा बढी जोखीममा विद्यार्थी भएकाले विद्यार्थीलाई स्वास्थ्यसामग्री विद्यालयमै लगेर वितरण गर्न सघाउने पनि उनै हुन्। विकास योजनामा समयमा काम नहुदा फलोअपमा होस वा बाढीपैह्रो पिडीतलाई राहत वितरणमा होस् उनी सेवामा हाजीर हुन्छन्। गत वर्ष गाउँमा पैह्रो जाँदा खाद्यान्नका बोरा काँधमा बोकेर हिडेको उनको यो फोटोको कुनै ब्याख्याविष्लेषण आवश्यक पर्दैन।
एक दिन होइन, दुई दिन होइन, वर्षैभरि, सधैंभरि उनी जनताको सेवामा खटे। गएको पाँच वर्षमा उनी नपुगेको कुनै गाउँ छैन र उनले सहयोग नजुटाएको कुनै ठाउं छैन। युवालाई गाउंमै बस्ने वातावरण बनाउन हरेक गाउंमा खेल मैदान र खेल सामग्री जुटाउन उनी निरन्तर लागि परे। शिक्षा स्वास्थ्य खानेपानी र बाटो सम्बन्धी उनको पहलमा रुरुमा परेका योजना एकसय बन्दा धेरै छन्।
शिक्षा सुधार्न सके र रोजगारी सिर्जना गर्न सके बसाइसराइ कम गर्न सकिन्छ भनेर उनले प्राविधिक शिक्षा जोड दिएका छन् र ५ वर्षमा सिर्जना गर्ने रोजगारीको संख्या किटान गरेर प्रतिबद्धता ब्यक्त गरेका छन्। उनीसंग त्यसको स्पष्ट योजना छ। पालिका अध्यक्षका अर्का उमेदवार हिमाल श्रेष्ठ मैले चिनेको एमालेको एक युवा नेता हुन। मलाई उनीप्रति कुनै पुर्वाग्रह छैन।
तर उनीले विगत पाँच वर्षमा आफ्नो दलभन्दा बाहीर रुरुका जनतालाई के गरे र जनताको सुखदुखमा कति साथ दिए अथवा विकासनिर्माणमा के गरे भन्ने उल्लेख्य काम देखिएका छैनन्। त्यसैले हिमालले आउने पाँच वर्ष जनताको सेवा पद बाहीर बसेर यदुले जस्तै गरुन् र पाँच वर्ष पछि अहिले यदुले जस्तै म यो यो काम गरें भनेर जनता समक्ष जाउन्। बल्ल राजनीति जनताको सेवाका आधारमा प्रतिष्पर्धाको विषय बन्छ। अहिले हिमालसंग यदुलाई होइन उनलाई भोट दिनुस् भनेर जनतालाई अपील गर्ने कुनै आधार देखिदैन।
यदुले पाँच वर्षसम्म चुनाव हारेर पनि जनताको सेवामा आफूलाई समर्पित गरे र अव स्थानीय सरकारको नेतृत्व पाएमा गाउँ बनाउछु भनेर अध्यक्षमा उम्मेदवारी दिएको छन् । उनको विगतको काम गराइबाट म आफैँ प्रभावित छु । अनि उनी जस्तो जनताको सेवा भावना, अठोट र सकृयता भएको मान्छेलाई उदारतापुर्वक भोट नदिएमा गाउँको परिवर्तन कसरी सम्भव हुन्छ? त्यसैले यदुले यसपटक चुनाव जित्नु पर्छ र रुरुवासीले एउटा मौका यदुलाई दिनै पर्छ।
ऊनी जस्तो जनताको सेवामा रातदिन खट्ने युवालाई मत नदिने हो भने गुल्मीको द्वार भनिने रुरु अझै पनि सुदुर पश्चिमका पालिकाहरु भन्दा विकासमा पछाडि पर्यो भनेर गुनासो गर्ने नैतिक अधिकार हामीसंग हुने छैन। आउनुहोस् काम गर्ने मान्छेलाई प्रोत्साहन दिउँ। एकपटक यदु र उनको टोलीलाई काम गरेर देखाउने मौका दिउँ।