रातमा मतदाता भेटेको विषयले गुल्मी छत्रकोटमा एमाले–काँग्रेस लफडा, मतदाता रनभुल्ल 

उम्मेदवारले रातको समयमा मतदाता भेटेको विषयलाई लिएर गुल्मीको छत्रकोटमा नेकपा एमाले र नेपाली कांग्रेसबीच विवाद सिर्जना भएको छ । एमालेका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार रामप्रसाद पाण्डेयको टोलीले रातको समयमा मतदाता भेटेको विषयले दुई पार्टीबीच विवाद सिर्जना भएको हो ।

- हामीसँग फेसबुकमा जोडिनुहोस्-

शनिबार बेलुका पाण्डेले खज्र्याङ अज्याङबासको खहरे टोलमा मतदाता भेटेको विषयलाई कांग्रेसले आचारसंहिता विपरित रातको समयमा मतदाता भेटेर महिलाहरूलाई धम्क्याएको, गाली बेइज्जती गरेको प्रलोभनमा पार्न खोजेको आरोप लगाएको छ । ‘उक्त कुराको जानकारी पाएपछि स्थानीय युवाहरूले भोलि उज्यालोमा आउनूस् भन्दा उल्टै धम्क्याउने कार्य भएको छ’, नेपाली काँग्रेस छत्रकोटका सभापति धातानन्द भुसाल भन्छन्, ‘सो कार्य निर्वाचन आचारसंहिताको दफा १७ को विरुद्ध भएकोले एमालेले आचार संहिता उल्लंघन गरेको छ ।’ 

तर एमालेले भने उम्मेदवार पाण्डे चुनावी भेटघाटको क्रममा आफ्ना आफन्तकहाँ जाने क्रममा पैदलयात्रामा रहेको बेला कांग्रेसका कार्यकर्ताले धम्क्याउने र अभद्र व्यवहार गर्ने र आक्रमणको प्रयास गरेको आरोप लगाएको छ । ‘घटनालाई ढाकछोप गर्न कांग्रेसले विज्ञप्ति निकालेर उल्टै एमालेले धम्क्याएको भन्ने आरोप लगाउँदै कुृ प्रचार गरेर सामाजिक सद्भाव खल्बल्याउन खोजेको छ’, एमाले छत्रकोटका अध्यक्ष पिताम्बर अर्यालले भने । 

शनिबार राती भएको उक्त घटनाको विषयमा आइतबार दुबै पार्टीले विज्ञप्ति निकालेर एक अर्कालाई आरोप प्रत्यारोप गरेका छन् ।   कांग्रेसले बिहान एक विज्ञप्ति निकालेर पालिकाको वडा नं ५ मा नेकपा एमालेले स्थानीय महिलाहरूलाई धम्क्याउने र प्रलोभनसमेत देखाई मत प्रभावित पार्न खोजेको आरोप लगाएको थियो भने दिउँसो एमालेले आफ्ना उम्मेदवारमाथि अभद्र व्यवहार भएको र विज्ञप्ति मार्फत गलत प्रचार गरेको भन्दै आपत्ति जनाएको छ ।

दुई पार्टीले एक अर्कालाई आरोप लगाइरहँदा घटनाका प्रत्यक्षदर्शी भने दलहरूको भ्रमको खेती देखेर दिक्क भएको प्रतिकृया दिन्छन् । ‘घटना के भएको हो भन्ने हामीलाई थाहा छ, तर चुनावमा मतदाता प्रभावित गर्न दलहरूको प्रतिस्पर्धाले कसरी समाजलाई भाँडेको छ भन्ने एउटा उदाहरण दिएको छ’, घटनाका प्रत्यक्षदर्शी एक युवा आफ्नो नाम नबताउने शर्तमा भन्छन्, ‘हाम्रै भोटले जित्नुपर्नेहरु  हाम्रो अगाडि भएको घटनाको बारेमा भ्रम छरेपछि गल्ती गर्नेहरूलाई कसरी तह लगाउने भन्ने हामी मतदाताले निर्णय गर्छौँ ।’ 

प्रतिक्रिया

सम्बन्धित समाचार