पार्टीको प्रचार गर्ने गुल्मीका पत्रकारलाई प्रेस काउन्सिलको निर्देशन : आचार संहिता पालना नगरे कारबाही

गुल्मी – राजनीतिक दलको प्रचार गर्ने गुल्मीका पत्रकार र सञ्चारमाध्यमलाई प्रेस काउन्सिल नेपालले निर्वाचन तथा पत्रकार आचारसंहिता पालना गर्न निर्देशन दिएको छ । काउन्सिलले सञ्चारमाध्यम र पत्रकारलाई पत्र पठाएर तथा फोन गरेरै पत्रकार आचासंहिता पालना गर्न निर्देशन दिएको हो ।

- हामीसँग फेसबुकमा जोडिनुहोस्-

अनुगमनको क्रममा अनलाइन तथा रेडियोहरुमा एकपक्षीय समाचार प्रकाशन/प्रशारण वा सम्प्रेषण गरेको तथा फेसबुक लगायतका सामाजिक सञ्जालमा प्रचार गरेर आचारसंहिताको उल्लंघन गरेको फेला परेको काउन्सिलले जनाएको छ । काउन्सिलले आचारसंहिता पालना नगर्ने केही सञ्चारमाध्यमलाई पत्र नै पठाएको र पत्रकारहरुलाई फोनमार्फत तथा पत्रकार महासंघ र अग्रज पत्रकारहरुमार्फत सचेत गराइएको जनाएको छ ।

खुलेआम राजनीति गर्ने पत्रकारलाई पत्रकार महासंघमार्फत सेचत बनाउन काउन्सिलबाट फोन आएको नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले बताए । ‘गुल्मीका पत्रकारले खुलेआम राजनीति गरेको पाईयो, सचेत गराउनुस भनेर काउन्सिलबाट फोन आएपछि व्यक्तिगत रुपमा भेटेर तथा कार्यक्रम नै राखेर आचार संहिता पालना गर्न सचेत गराईको छ’, उनले भने, ‘जानकारी गराउँदा गराउँदै पनि सतेत नहुनेहरु कारबाहीमा पर्न सक्नुहुन्छ ।’

कान्तिपुर दैनिकका गुल्मी संवाददाता गगनशिला खड्काका अनुसार काउन्सिलले गुल्मीका केही रेडियो, केही अनलाईन र ५÷६ जना पत्रकारलाई नाम तोकेरै आचार संहिता पालना गर्ने विषयमा सचेत गराउन सुझाव दिएको छ । ‘काउन्सिलले पत्रकार साथीहरुले आचारसंहिता उल्लंघन गरेको भन्ने विषयमा गम्भिर रुपमा चिन्ता व्यक्त गरेको छ’ उनले भनिन्, ‘पत्रकारिता मार्फत समाजलाई असल मार्गदर्शन गर्ने पत्रकारले आफूले के गर्दैछु भन्ने विषयमा गम्भिर हुन जरुरी छ ।’

केही पत्रकारले छद्म नाम राखेर तथा केहीले ‘बाईलाइन’ नराखी अनलाइनहरुमा एकपक्षीय समाचार लखेको विषयमा पनि काउन्सिलले सचेत बनाएको छ । नेपाल पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष जनार्दन घिमीरेले पत्रकारले पेशाको मर्यादा राख्नुपर्ने बताए । ‘पत्रकारिता पेशालाई विश्वसनीय बनाउन हामीले पेशागत मर्यादा राख्नैपर्छ’, उनले भने ।

आचारसंहितामा के छ व्यवस्था ?

निर्वाचन आचारसंहिता २०७८ को दफा २२ अनुसार सञ्चारमाध्यम र पत्रकारले कुनै राजनीतिक दल वा उम्मेदवारबाट दान, उपहार वा आर्थिक सहयोग लिन नहुने, कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने, जातजाति, भाषा, धर्म, सम्प्रदाय, लिङ्ग र क्षेत्र बीचको सम्बन्ध र सद्भावमा खलल पार्ने, राजनीतिक आस्था वा विचार, राष्ट्रियता तथा सामाजिक अवस्था जस्ता कुनै पनि आधारमा भेदभाव हुने गरी समाचार प्रकाशन वा प्रशारण गर्न नहुने व्यवस्था छ ।
त्यस्तै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको लागि निःशुल्क वा प्रायोजित विज्ञापन, प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने, आयोगले तोकेको समयावधिभन्दा बढी नहुने गरी राजनीतिक दल वा उम्मेदवारको निर्वाचन सम्बन्धी विज्ञापन प्रकाशन, प्रशारण वा सम्प्रेषण गर्ने, त्यस्तो विज्ञापनमा सःशुल्क विज्ञापन भएको जनाउ दिनुपर्ने व्यवस्था छ ।
त्यस्तै कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, मेसेञ्जर, ट्वीटर, भाइवर, यूट्युव, इन्स्टाग्राम जस्ता विद्युतीय माध्यम प्रयोग गरी कुनै सामग्री प्रकासन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा शेयर, लाइक, कमेण्ट वा प्रति कमेण्ट गर्न नहुने व्यवस्था छ । त्यस्तै सूचनाको स्रोतको गोपनीयता भंग नहुने, राजनीतिक दल वा उम्मेदवार तथा उम्मेदवारको एकाघरका परिवारका सदस्यको मान, प्रतिष्ठा, इज्जतमा आँच पु¥याउने तथा गलत र भ्रामक समाचार प्रकाशन तथा प्रसारण गर्न नहुने आचार संहितामा व्यवस्था छ ।

तर काउन्सिलले अनुगमन गर्दा तोकिएको भन्दा फरक तरिकाले विज्ञापन गरेको, घृणस्पद अभिव्यक्ति, अमर्यादित, , असन्तुलित, एकपक्षीय, तथ्याहीन समाचार तथा सामग्री सम्प्रेषण गरेको, सामाजिक सञ्जालमा कुनै दलको पक्ष वा विपक्षमा राजनीतिक दलको कार्यकर्ताले झैं चुनावी नारा, तस्विर राखिरहेको फेला परेको छ ।

निर्वाचन आचार संहिताका सुक्ष्म अनुगमन संयन्त्र तथा स्थानीय देखि राष्ट्रिय स्तरसम्म विभिन्न संयन्त्रले अनुगमन गरिहेका छन् ।
आचारसंहिता उल्लंघन गर्नेको नाम नामेसी सार्वजनिक गर्नेदेखि कारबाही समेत हुनसक्नेतर्फ काउन्सिलले सञ्चारमाध्यम तथा पत्रकारलाई पटक पटक सचेत गराउँदै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार