गुल्मीमा आचार संहिता विपरीत चर्को आवाजमा प्रचार, ध्वनि प्रदुषणले जनता हैरान  

गुल्मीमा चर्को आवाजमा गीत र प्रचार सामग्री बजाएर राजनीतिक दलहरूले आचारसंहिता उल्लंघन गरेका छन् । सदरमुकाम रेसुङ्गा नगरपालिका लगायत जिल्लाका सबैजसो स्थानीय तहमा उम्मेदवारका प्रचार सामग्री बजाएर दलहरूले आचारसंहिता उल्लंघन गरेका हुन् ।
निर्वाचन आचार संहिता २०७२ को दफा ५ को उपदफा (क) १२ अनुसार ‘आमसभा गरेको स्थल र समयमा बाहेक अन्य स्थल र समयमा माइक तथा लाउडस्पीकरध्वनि उत्पन्न गर्ने अन्य यन्त्र प्रयोग गर्न नहुने’ भन्ने उल्लेख छ । तर यहाँका राजनीतिक दलले भने सवारी साधनमा लाउडस्पीकर तथा माइक जडान गरी चर्को आवाजमा गीत र प्रचार सामग्री बजाउने गरिएको छ ।
बिहानैदेखि राती अबेरसम्म जिप तथ कारमा गीत बजाउँदै ओहोरदोहोर गर्ने गरेको कारण आफूलाई अध्ययनमा ठूलो समस्या परेको तम्घासमा डेरा गरि बस्ने धुर्काेट ७ का रमेश खनालले गुनासाे गरे । ‘बिहानै उठेर पढ्न थाल्यो गीत बजाउँदै गाडी दौडिन्छन्, दिनभरी कलेजमा समेत चर्को आवाजले हैरान पा¥यो’, उनले भने, ‘अरुलाई त रमाइलै लाग्दो हो, तर हामी विद्यार्थीलाई भने सारै ‘डिस्टर्ब’ भयो ।
सदरमुकाम तम्घासमा नेकपा एमाले र नेपाली काँग्रेसका उम्मेदवारका प्रचार सामग्री तथा गीत बजाउँदै गुड्ने गाडीको प्रतिस्पर्धा छ । ‘हामी पनि कुनै पार्टीलाई भोट दिने हो, कुनै कुनै बेला त गीत बज्दा ठीकै छ, रमाइलो पनि लाग्छ तर मिनेट मिनेटमा चर्को गीतले त रिसै उठ्दो रहेछ’, तम्घास पुतलीबजारका मिना थापाले भनिन् ।
दलहरूले टेरेनन् मुख्य निर्वाचन अधिकृतलाई
आचारसंहिता उल्लङ्घनको विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार राजनीतिक दलहरूसँग छलफल समेत गरेको थियो । दलहरूले आचारसंहिता विपरित त्यसरी सवारी साधनमा लाउडस्पिकरमा गीत/प्रचार सामग्री नबजाउने प्रतिवद्धता व्यक्त गरेपनि बुधबार बिहानैदेखि प्रचार गर्दै हिँडेका छन् ।
‘हिँजो सर्वदलीय बैठक बसेर नबजाउने प्रतिवद्धता भएको छ । तर पालना नगरेको अवस्थामा कानूनी रुपमा कारवाहीको प्रकृयामा जान्छ’, मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामबहादुर कुँवरले भने । 

 

प्रतिक्रिया

सम्बन्धित समाचार