अब नीति बनाएर मात्रै सुन्दरी प्रतियोगिता गर्न पाउने

संसदीय समितिले नीतिगत स्पष्टता कायम गरेर मात्र सौन्दर्य प्रतियोगिता सञ्चालन गर्न दिन सरकारलाई निर्देशन दिएको छ । सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको बैठकले गृह मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो ।

- हामीसँग फेसबुकमा जोडिनुहोस्-

सौन्दर्य प्रतियोगिता आयोजकले प्रतियोगीमाथि बलात्कार गरेको भनिएको आठ वर्ष पुरानो घटना यसैसाता सार्वजनिक भएपछि सभामुख अग्निप्रसाद सापकोटाले पनि घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई रुलिङ गरेका थिए । त्यसपछि संसदीय समितिले सरकारलाई सौन्दर्य प्रतियोगिता आयोजनाका लागि नीतिगत स्पष्ट कायम गर्न निर्देशन दिएको हो ।

यौनहिंसा र दुव्र्यवहारका घटना न्यूनीकरणका सम्बन्धमा समितिले महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री, गृह र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिवलाई बोलाएर छलफल गरेको थियो ।

समितिले भनेको छ, ‘विभिन्न नाममा हुने सुन्दरता, मोडलिङ सम्बद्ध प्रतियोगिताहरु र मनोरञ्जन क्षेत्रमा संलग्न विविध वर्ग र प्रवर्ग ९उमेर, जात, योग्यता०मा आधारित कुनै पनि प्रकारका सौन्दर्यसम्बद्ध प्रतिस्पर्धात्मक कार्यक्रम सम्बन्धमा विस्तृत छलफल गरी नीतिगत स्पष्टता कायम गराएर मात्र सञ्चालन गर्न दिन समितिको यो बैठक नेपाल सरकार, गृह मन्त्रालयलाई निर्देश गर्दछ ।’

बैठकमा नेकपा माओवादी केन्द्रकी सांसद अमृता थापाले त सुन्दरी प्रतियोगिता नै रोक्नुपर्ने बताइन् । ‘कतिसम्म कठोर हुन सक्छौं त्यति कठोर भएर निर्णय गरौं । सुन्दरी प्रतियोगिता जस्ता कार्यक्रमले विकृति फैलाएको हो भने यसलाई रोकौं’ उनले भनिन् । उनले सुन्दरी प्रतियोगिता नगर्दा राज्यलाई कति घाटा पर्छ भनेर पनि सोधिन् ।

माओवादी केन्द्रकै अर्की सांसद अञ्जना विशंखेले बालिग नभएकाहरुलाई सुन्दरी प्रतियोगितामा सामेल गर्न नहुने धारणा राखिन् । ‘बालिग नभएकालाई राजनीतिक दलको झण्डा बोकाउनु हुँदैन भन्छौैं । तर, मिस टिन बनाउने कानुन कुन आधारमा लागु गरियो रु’

बालिग नभइसकेकाहरुको सुन्दरी प्रतियोगितामा रोक लगाउनुपर्ने उनको मत छ । ‘मिस टिनमा सहभागी हुनेहरुको दिमागी हालत परिपक्व भएको हुँदैन । त्यसकारण यसलाई बन्द गर्नुपर्छ, प्रतिबन्ध लगाउनुपर्छ’ उनले भनिन् ।

पूर्वमन्त्री एवं एमालेकी सांसद थममाया थापाले पछिल्लो समय सार्वजनिक भएका सौन्दर्य प्रतियोगिताका नाममा हुने बलात्कार, शिक्षकले विद्यार्थीमाथि गरेका यौन हिंसाको घटना नेपाली समाजको वास्तविक तस्वीकार भएको बताइन् । ‘हिम्मत गरेर केहीले सार्वजनिक गरे सार्वजनिक नभएका घटनाहरु उत्तिकै छन्’ उनले भनिन् ।

महिला र पुरुषको अस्तित्व बराबर हो भनेर विद्यालय स्तरबाट चेतना जगाउनुपर्ने सांसद थापा बताउँछिन् । ‘महिला खेलौना र वस्तुको रुपमा उपयोग हुने चीज हुन् भन्ने चिन्तन तोड्न नसक्दा समाजमा हिंसा र दुर्व्यवहारजन्य घटना भइरहेका छन् । यसलाई रोक्न मुख्यत चेतना नै फैलाउनुपर्ने हुन्छ’ उनी भन्छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार