पढाइ ठूलो कि अनुभव ?

एक पटक मुम्बईको एउटा निकै ठूलो हिरा व्यापारीले अफ्रिकाबाट निकै धेरै सामान पानी जहाजमा लोड गरेर भारत आउँदै थियो । अचानक समुद्रमा तुफान आयो र के कसो पर्न गयो कुन्नि, जहाजको इन्जनले पनि काम गर्न छोड्यो । जहाज ठूला छालसँगै बेस्करी ढलपलाउन थाल्यो । सबै अत्तालिएर रुन कराउन थाले ।

- हामीसँग फेसबुकमा जोडिनुहोस्-

जहाजका इन्जिनियर र प्रविधिज्ञले हरतरहले कोसिस गरे । तर जत्ति कोसिस गर्दापनि उपाय लागेन । जहाजको इन्जन सुचारु हुँदै भएन । अन्तमा उनीहरू हार खाएर चुप लागे र भगवान भरोसा भन्दै थचक्क बसे । यात्रुहरू जीवनको आशा त्यागेर झनै कोलाहल गर्न थाले ।

त्यस जहाजमा एउटा बूढो मान्छे पनि यात्रा गर्दैथियो जो कुनै समय जहाजको मिस्त्री थियो । जहाजका सबै नयाँ क्रू अर्थात् स्टाफले उसलाई चिन्दैनथे । अरूबाट कुनै उपाय ननिस्केपछि उ अघि बढ्यो । त्यत्रा विशेषज्ञहरूले गर्न नसकेको काम उसले गर्ला भन्ने कसैलाई पनि पत्यार लागेकै थिएन । कसैले त उसलाई खिसी टिउरी समेत गरे ।

अब त्यो बुढो मान्छेले आफूले भिरेको झोला लिएर अगाडि बढ्यो र इन्जनलाई निकै घोरिएर नियाल्न थाल्यो । सबैजना उसैलाई हेर्दै थिए । तर धेरैबेर सम्म केही नगरी चुपचाप उभिई राखेकोले उसले केही गर्ला भन्ने झिनो आशा पनि टुट्यो ।

तब अचानक त्यस वृद्धले इन्जनको एक भागमा हतौडीले हिर्कायो । यति गर्नु के थियो, इन्जन स्टार्ट भइहाल्यो । सबैजना खुसीले उफ्रिन थाले । कोही “धन्य परमेश्वर !” भन्दै रमाउन र नाच्न थाले ।

केहीबेरमा त्यस वृद्धले २० हजार रुपैयाँको बिल बनाएर भुक्तानी माग्यो । 

“तपाईंले दु:ख केही गरेकै होइन । खाली एकपटक हतौडीले हिर्काएको २० हजार कसरी पर्छ ?” भनेर सोधियो ।

बुढाले भने ,” हजुर, हतौडा हिर्काएको १ हजार मात्रै हो । बाँकी १९ हजार हतौडा कहाँ, कति र कसरी मार्ने भन्ने जानकारीका लागि हो जो तपाईंहरू कसैलाई थाह थिएन ।”

यो सुनेपछि कसैलाई केही बोल्ने बाटै रहेन ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार